धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच सहयोग सम्झौता
धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट विकासमा सहकार्य गर्न तीन वर्षका लागि पुनःप्रायोजन सहयोग सम्झौता गरिएको छ।
घोराही सिमेन्ट उद्योगका तर्फबाट ‘मार्केटिङ’ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यकपर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ‘ग्रास रुट’ कार्यक्रम लगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ।
यस्तै धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गरिने जनाइएको छ। नेपाली क्रिकेटलाई ‘फ्रेन्चाइजी’ युगमा प्रवेश गराउँदै देशमा पहिलो पटक धनगढीबाट व्यावसायिक क्रिकेट प्रतियोगिता सञ्चालन गरेको डिसिएले यसअघि ‘धनगढी प्रिमियर लिग’(डिपिएल)का तीन संस्करण पूरा गरिसकेको छ।
धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउन सगरमाथा सिमेन्टको योगदान महत्वपूर्ण रहेको एकेडेमीका अध्यक्ष शाहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस