बागमती र प्रदेश १ का मुख्यमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्दै
मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनको तरंगले प्रदेश सरकारहरू पनि हल्लिएका छन् । यही क्रममा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तव दर्ता गर्दै बाेलाईएकाे अधिवेश आजवाट सुरु हुँदैछन् ।
पार्टी दुई चिरामा विभक्त भएलगत्तै त्यसको प्रभाव बागमती प्रदेशमा सबैभन्दा पहिला देखा पर्यो । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेको पाँच दिनमै १० पुसमा प्रचण्ड–नेपाल पक्षधर सांसदहरूले ओली पक्षधर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे ।
दुई दिनपछि नै १२ पुसमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भयो । यहाँ पनि प्रचण्ड–नेपाल पक्षधर सांसदले ओली पक्षधर राईविरुद्ध प्रस्ताव दर्ता गराएका थिए । त्यसयता अन्य प्रदेशका मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छैन । तर, बाँकी प्रदेश सरकारमाथि पनि तरबार झुन्डिएकै छ ।
आज बुधबारबाट प्रदेश १ र बागमतीमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । त्यसैले हिउँदे अधिवेशनमाथि धेरैको नजर छ । संघीयताको अभ्यास गर्दै गरेका कलिला सरकार आफ्नै पार्टीमा आएको विभाजनले कति क्षतविक्षत हुने हुन्, त्यो आगामी दिनमै देखिनेछ ।