आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रादेशिक टिम र तीन विभागीय टिम गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
१६ दिनसम्म चल्ने प्रतियोगितामा कूल २३ खेल हुनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’मा रहेका त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । त्यसअघि युवा तथा खेलकुदमन्त्री दावा तामाङ लामाले बिहान साढे ८ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।