जनअपेक्षाअनुसार काम गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक
गाेदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विकासकालागि जनताको अपेक्षा बढेको अवस्थामा तीनै तहकाे सरकारबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् । मंगलवार कैलालीकाे गाेदावरीमा सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को तेस्रो बैठकलाई सम्बाेधन गर्दै प्रभावकारी ढङ्गले जनतामाझ कार्यक्रम लग्न जरुरी रहेको बताएका हुन् ।
बढ्दो भ्रष्टाचार रोक्न नागरिक निगरानी महत्त्वपूर्ण हुने भन्दै मुख्यमन्त्री भट्टले जनता पनि जागरूक हुनुपर्ने बताए ।समाजमा रहेका कुरीति अन्त्यका लागी सरकारले काम गरिरहेको उनको दाबी छ । बैठकमा मुख्यमन्त्री भट्टले सङ्घीयता अहिले खतरामा परेको बताए । सङ्घीय संसद असंवैधानिक ढङ्गले विगठन भएसँग मुलुक सङ्कटमा परेकाले जनअपेक्षा अनुसारका काम गर्न समस्या भएको बताए ।
बैठकबारे मिडियालाई जानकारी दिदैं सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले बैठकमा प्रदेश समन्वय परिषद्को सञ्चालन, व्यवस्थापन, राजश्वको परिचालन र तीन तहकै सरकारको समन्वयका बारेमा छलफल भएको बताए । यसका साथै सङ्घीयता कार्यान्वयन, सरकारका साझेदारी कार्यक्रम र सेवा प्रवाह गर्दा लगाउने कर, दस्तुर, सेवा शुल्कका बारेमा छलफल भएकाे उनले जानकारी दिए ।
बैठकमा सहभागी सरोकारवालाहरूले सामाजिक कुरीति अन्त्य गर्ने प्रतिबद्धता साथ सामूहिक हस्ताक्षरसमेत गरेका थिए । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख,जिल्ला समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियाे ।
यसअघि ०७५ साल असाेजमा परिषद्को पहिलो बैठक बसेको थियो। परिषद्को दोस्रो बैठक ०७६ जेठमा बसेको थियो भने तेसो बैठक आज मङ्गलवार बसेको हाे ।