सामुदायिक विद्यालय समिति महासङ्घ कैलालीकाे अध्यक्षमा ठकुल्ला
धनगढी । विद्यालयको क्षेत्र र सुधार योजनामा काम गर्ने सामुदायिक विद्यालय समिति महासङ्घ नेपालले आफ्नो सङ्गठन बिस्तार गर्न थालेको छ । २०७० सालमा स्थापना भई केन्द्र र प्रदेश समितिको टुङ्गो समेत लगाई सकेको महासङ्घले जिल्ला तथा पालिका स्तरमा सङ्गठन बिस्तारको कामलाई तीव्र पारेको हो ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा सङ्गठन बिस्तार गरिरहेको महासङ्घले कैलालीमा पनि समिति गठन गरेको छ । आइतबार कैलालीको सुखडमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले खकेन्द्र ठकुल्लाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिले जिल्ला भरिका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको अनुगमन तथा परिचालन गर्ने छ । साथै स्थानीय पालिकामा पनि सङ्गठन बिस्तार गर्दै जाने समेत बताइएको छ ।
सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेम राज भाटको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्य थापा रहेको थिए ।
यस्तै कार्यक्रममा सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हर्क धानुक, शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख वैकुण्ठ सुबेदी, घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी लगायत जिल्ला भरिका विद्यालयहरूबाट व्यवस्थापन समितिको सहभागिता रहेको थियो ।
सामुदायिक विद्यालय समिति महासङ्घ नेपालका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष ध्रुव राज उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासङ्घका सचिव नेत्र भण्डारीले गरेका थिए ।