दुखद् खबर: फेसबुकमा ‘गुडवाई’ लेखेर गायक बद्रीले गरे आत्महत्या
धनगढी । सामाजिक सञ्जाल फेसबुकमा गुडवाई लेखेर चर्चित नेपाली गायक बद्री केसीले आत्महत्या गरेका छन् । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका उनले शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका थिए ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । फेसबुकमा ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।
उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए । उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको र प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको शव शनिबार मात्रै फेला परेको थियो। आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको खुलेको छ ।
उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्दथे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।