‘प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुन्छ’ : प्रधानमन्त्री ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा निर्धारित प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १७ र २७ वैशाख २०७८ मा निर्धारित निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरे।
“कतिपयले चुनाव हुँदैन भनिरहेका छन्। म तेहेर्याएर भन्छु चुनाव हुन्छ, ढुक्क भएर तयारीमा लाग्नुस्”, प्रधानमन्त्री ओलीले भने, “तपाईंहरूले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरूका कुरा सुन्नु भएको होला। तपाईंहरू प्रभावित भइरहनुपर्ने आवश्यकता छैन।” उनले भने- “बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन। हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन। देश बनाउनुछ। हामी देश बनाउन लागेका छौं ।”
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई आउँदो निर्वाचनमा देशभरीबाट १० वटा सिट जितेर देखाउन पनि चुनौती दिए। “छोरी–बुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिँदैन। यत्रा ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन”, ओलीले भने।