जमिनको लालपूर्जा माग गर्दै पुनर्वासका किसान आन्दाेलित
विकास महता
कञ्चनपुर । आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाभित्र बसोवास गर्दै आएका सुकुम्वासी आन्दोलित भएका छन् । पुस २० गते मौन जुलुस गरिसकेपछि पनि कुनै सुनुवाई नभएकोले २४ र २६ गते नगरपालिका केन्द्रित थप सशक्त आन्दोलन गर्ने तयारी रहेको सुकुम्वासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले बताए ।
कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । तर पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारका अनुसार जिल्लाका अन्य क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको भन्दा यहाँको समस्या केही फरक भएकोले आयोगले अर्को चरणमा सम्झौता गर्नेे बताए ।
पुनर्वासको जग्गा राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेकोले स्थानीय सरकारको प्रयासबाटमात्रै समस्या समाधान हुन नसकेको बताइएको छ । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।