Dashain Suvakamana

निर्दोष प्रहरीलाई त मिल्यो न्याय, तर निर्मलालाई कहिले ?

सविन ढकाल

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्टलाई पुनर्वाहाली गर्‍यो। यससँगै दुई वर्ष दुई महिनापछि एसपी विष्टको सेवामा फर्किने बाटो खुलेको छ।१३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणमा २०७५ कार्तिक ८ गते गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाइएको थियो।

विष्ट र भट्टमाथि प्रमाण लोप गरेको र यातना दिएको मुद्दा लागेको थियो। तत्कालीन एसपी दिल्लीराज विष्ट २०७५ चैत ५ गते मात्र कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका थिए। विष्टलाई प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।

त्यसको करिब दुई वर्षछि सोही अदातलबाट उनीहरुले सफाइ पाए। साउन १५ गते कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो। एसपी विष्ट र भट्टमात्र होइन, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि लागेको आरोप पनि अदालतले गलत ठहर्‍याउँदै सफाइ दियो।

दुई वर्षसम्म निलम्बनमा परेका प्रहरीले पाएको टर्चर भने बेग्लै छ। उनीहरुमाथि अपराध लुकाएको आरोप लाग्यो र हेयका दृष्टिले हेरियो। अहिले उनीहरुको पक्षमा सफाई आएको छ। उनीहरुको जीवन सामान्य लयमा फर्किन थाले पनि निर्मला हत्या प्रकरणको गुत्थी भने जहीँको तहीँ नै छ।अहिले सेवा अवकाश र राजीनामा दिएका प्रहरीबाहेक निलम्बन फुकुवा भएका अन्य प्रहरी काममा फर्किसकेका छन्। एसपी विष्ट तिनै व्यक्ति हुन् जो निर्मला प्रकरणमा छोरा किरण बिष्ट सहित डीएनए परीक्षणमा परेका थिए। नेपाल प्रहरीको इतिहासमा बलत्कारको अनुसन्धानका लागि बाबुछोराको डीएनए परीक्षण गरिएको यो पहिलो घटना हो।

प्रहरी नेतृत्वको कमजोर तजविजीका कारण विष्टको करिअरमात्र होइन्, परिवारले समेत यसको चोट खेप्यो। उनी र उनको परिवारमाथिको आरोप अदालतले खारेज गरेको भए पनि उनीहरुमाथि लागेको सामाजिक दाग सहज रुपमा मेटिन सक्दैन।’अदालतबाट सफाइ पाइएपछि न्याय मिलेको छ। सामान्य जीवनमा फर्किने कोसिस गरिरहेका छौं,’ एसपी विष्टले भने।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा बलत्कारपछि हत्या गरिएको अबस्था शव फेला परेको थियो। त्यसपछि निर्मला प्रकरणले धेरैलाई अनुसन्धानको दायरमा तान्यो। कतै कानुनले त कतै समाजले समेत धेरैलाई आरोपी तुल्यायो। विष्टजस्तै निर्मला प्रकरणमा समाजबाट दोषी करार गरिएका पात्र थिए, बम दिदी बहिनी। अर्थात् रोशनी बम र वविता बम। निर्मला साउन १० गते उनीहरुकहाँ पढ्न गएकी थिइन्। त्यसपछि उनी फर्किनन्। त्यसैले धेरैले बम दिदी बहिनीलाई नै शंकाको नजरले हेर।

भिडको आरोपकै भरमा प्रहरी प्रशासनले पनि उनीहरुलाई अनुसन्धानमा तान्यो। उनीहरुले पनि नराम्ररी तनाव बेहोर्न पर्‍यो। दुई वर्षको यो अवधिमा उनीहरु माथि समाजले लगाएको आरोप मिथ्या सावित भयो। अहिले उनीहरु समान्य जीवनमा फर्किँदैछन्। विद्यालयले ट्रान्सफर सर्टिफिकेट नदिँदा पढाइ रोकिएको थियो रोशनीको। उनले अहिले पढ्न थालेकी छिन्। बबिताको पनि जीवन सामान्यतर्फ पुगेको छ। ‘हामी हाम्रो जीवन चलाइरहेका छौं। अहिले त धेरै मानिसले बुझिसकेका छन्। पहिले झैं छोरीहरुलाई त्यसरी हेर्दैनन्,’ बम दिदी बहिनीका बुबा दीपेन्द्र बमले भने।

निर्मला प्रकरणमा बिनाकारण तानिएका अर्का व्यक्ति हुन् किरण विष्ट। किरण एसपी विष्टका छोरा। निर्मला हत्या प्रकरणमा उनको संलग्नता भन्दै थोपरिएको सामाजिक दवावसामु प्रहरी प्रशासन कमजोर सावित भयो। र, उनको डीएनए परीक्षण गरियो। किरणलाई निर्मला प्रकरणले निकै विचलित गरायो। बाबुमाथिको कारबाही र आलोचना सहेकै थिए, आफैँमाथि अपराधीको ट्याग भिरिनु अकल्पनीय थियो। उनी पनि प्रहरीको अनुसन्धानमा तानिए।

एसपी विष्टका छोरा भएकै कारण उनलाई केही व्यक्तिले नियोजित तरिकाले विवादमा ल्याए। उनलाई नै निर्मलाको बलात्कारी र हत्यारा झै सावित गर्न खोजियो। उनले पनि अहिले क्लिन चिट पाएका छन्। उनी पनि अन्य झैं काममा फर्किदै छन्। फोटोग्राफर किरण अहिले पनि मानिसले काम गर्दा बेला बेला व्यक बाइटिङ गर्ने गरेको सुनाउँछन्।’खै के न्याय मिल्यो भन्नु? राम्रो राम्रो कामहरु पाइँदैन। काम गर्दा म नभएको समय व्याक बाइटिङ गरेको सुन्छु। तर, सामान्य बनाउँदै लैजानु पर्ने भएकाले काममा लागिरहेको छु,’ किरणले सुनाए।

खेम भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिक पत्रिका तथा सामाजिक सञ्जालमा आफूलाई बदनाम गराउने गरी समाचार लेखिएको भन्दै गाली बेइजतीमा मुद्दामा उनी अझैं अदालत धाइरहेका छन्। बम दिदी बहिनीले पनि भण्डारीबिरुद्ध दिएको मुद्दा अदातमा अझैं बिचाराधीन छ। एकातिर, निर्मला प्रकरणमा अस्पष्ट र विरोधाभाषा भएका एकएक गाँठोहरु फुक्दै गएका छन्। विनाकारण विभिन्न कारबाही खेपेका र आरोप लागेका व्यक्तिहरुले सफाइ पाएका छन्। तर, दुई वर्ष बितिसक्दा पनि निर्मलाले न्याय पाएकी छैनन्।

अर्कातिर निर्मलाको हत्यारा को हो भनेर अझै पत्ता लागेको छैन। त्यही प्रकरणमा कारबाही भोगेका प्रहरीले सफाई पाएका छन्। उनीहरुले सफाइ पाउनुले उनीहरुले गरेको अनुसन्धान गलत थिएन भन्ने त देखाएको छ तर अपराधी समातिन सकेको छैन। प्रहरीले आभियुक्त भनेर सार्वजनिक गरेका ४१ वर्षीय दिलिपसिंह विष्ट अझै प्रहरीको शंकाको घेरामा छन्। प्रहरीले अनुसन्धान गर्दा कसैलाई पनि यातना दिएको पुष्टि भएन। विष्टलाई यातना दिइयो भन्दै एउटा ठूलो पक्ष उनको बचाउका लागि उत्रिएको थियो। दिलिपसिंह विष्टले भिडियो बयानमा निर्मलाको बलत्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। त्यसको बेलिबिस्तार नै लगाएका छन्।

यदि प्रहरीले उनलाई जबरजस्ती बोल्न लगाएको होइन भने, उनको बयानलाई आधार मानेर किन पक्राउ गरिएन? प्रश्न अनुत्तरित छ। उनीविरुद्ध निर्मालाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी नै दिएकी छिन्। पूर्व डीआइजी हेमन्त मल्ल यस्तो अवस्थामा प्रहरीले पहिलेको अनुसन्धानलाई नै पुन: प्रकृयामा लैजानुपर्ने तर्क गर्छन्।’त्यतिखेरको केही कुरा बाहिर आएको छ। अब त्यो कुरालाई थप प्रमाणित गरेर अनुसन्धान अघि बढाउनुपर्छ। पहिलेको अनुसन्धानलाई नकारेर अगाडि बढ्न मिल्दैन,’ पूर्व डीआइजी मल्लले भने।

परिस्थिति पहिलेको झै अब छैन। डीएनएबाट अपराधी खोज्ने बाटो समेत बन्द भएको छ। डीएनए परीक्षणमा नै शंका देखिएपछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनमा प्रहरीले लिएको स्याम्पल पुरुषको बिर्य हो भन्न नसकिने उल्लेख गरिसकेको छ। त्यसपछि डीएनएको आधारमा अपराधीको पहिचान हुने विषयले पूर्णविराम पाएको छ। अबको अनुसन्धान नयाँ शिराबाट होइन पुरानो अनुसन्धानलाई नै थप प्रमाणित गर्नुपर्ने सुरक्षा विज्ञहरु बताउँछन्।

‘पुरानो भुतले अझै तर्साएको छ। अनुसन्धान गर्ने प्रहरी डामिएका छन्। प्रहरी संगठनले मात्र होइन अब यस अनुसन्धानमा सरकारको हौसला र विश्वास चाहिन्छ। त्यसभन्दा पहिले त्यहाँका स्थानीयको विश्वास जित्न सक्नुपर्छ। प्रहरीको अनुसन्धान सही छ भन्ने हुनुपर्छ,’ पूर्व डीआइजी मल्ले भने। अनुसन्धानमा खटिएका प्रहरीले सफाई पाउँदैमा निर्मलाले न्याय पाउने होइन। निर्मलाको न्याय अपराधी पहिचान र कानुनी कारबाही नै हो। केन्द्रीय अनुसन्धान व्यूरो( सीआइबी) बाट डीएसपीको कमाण्डमा अनुसन्धान गर्न कञ्चनपुरमा अर्को टोली परिचालन भएको छ।

तर, टोलीले पनि न नयाँ अनुसन्धानको शिरा नै समात्न सकेको छ, न त पुरानै अनुसन्धानलाई फेरिफाइ गरेर कारबाही गर्ने हिम्मत देखाइरहेको छ। निर्मलाको विषयमा प्रश्न उठ्यो भने रेडिमेड जवाफ ‘हाम्रो टोली फिल्डमा गएर अनुसन्धान गरिरहेको छ’ भन्न बाहेक यसले सफलताका लागि कुनै पहलकदमी लिन सकेको छैन। यसरी नै प्रहरी प्रशासन अगाडि बढिरहने हो भने निर्मलालाई न्याय कहिल्यै मिल्नेवाला छैन। -पहिलाे पाेष्ट

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.