गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको भन्दै प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।
बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ । प्रहरीका अनुसार धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ । जसका कारण ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ । नदीमा पानीको बहाव बढेसँगै आएको लेदोसहितको बाढीले नदी किनारमा संरचनामा क्षति पु¥याएको छ । बाढीले सल्लेरी बजार र हाइड्रोपावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बाढीले क्षति पु¥याएपछि नदी तटीय क्षेत्रका स्थानीय बासन्दिाहरुमा त्रास फैलिएको छ । नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।