कृष्णपुर नगरपालिकाले ६ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । दुर्गम तथा टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई सहज रूपमा विद्यालयसम्म पुग्ने वातावरण बनाउने उद्देश्यले नगरपालिकाले बस उपलब्ध गराएको हो।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो। नगरपालिकाले गत आर्थिक वर्षको बजेटअन्तर्गत बस खरिद गरेको जनाएको छ। सुरुमा युरो–३ मापदण्डका बस खरिद गर्ने योजना रहे पनि सरकारले उक्त मापदण्डमा रोक लगाएपछि युरो–६ मापदण्डका बस खरिद गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले श्री महाकाली माध्यमिक विद्यालय, श्री उदय माध्यमिक विद्यालय, श्री नन्द माध्यमिक विद्यालय, श्री कृष्ण माध्यमिक विद्यालय, श्री विणा माध्यमिक विद्यालय र श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएका बस टाटा कम्पनीले निर्माण गरेका २०२६ मोडलका बस हुन्। प्रत्येक बसको मूल्य करिब ४६ लाख ४६ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.