दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवागमन अवरुद्ध

महेन्द्रनगर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज बिहान पानीको बहावका कारण पुलको दोधारातर्फको पिल्लर भाँचिएको हो ।

पिल्लर भाँचिएपछि पुलको करिब पाँच–छ मिटर भाग उठेकाले आवतजावतमा समस्या भएको छ । प्रहरी नायब उपरीक्षक रावतले पुलमा आवागमन रोकिएको र सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार पिल्लर भाँचिएपछि पुलबाट आवागमन पूर्ण रूपमा रोकिएको छ र पुलको क्षतिग्रस्त भाग मर्मत गर्नुपर्ने अवस्था रहेको छ ।

करिब दुई दशकअघि निर्माण भएको उक्त झोलुङ्गे पुलले भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्दै आएको छ । पुल सञ्चालनमा आएपछि दोधारा–चाँदनी क्षेत्रको आवागमन सहज हुनुका साथै मुलुकको मूलधारसँगको सम्पर्कसमेत सहज भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.