अविरल वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । शुक्रबार एक जना र शनिबार राति ४ जनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।
शुक्रबार रुब्दीकोट गाउँपालिकामा ५९ वर्षीय कृष्ण कुमारी सारुको मृत्यु भएको थियो । माथागढी गाउँपालिका–३ भसकटामा शनिबार राति पहिरोमा पुरिएका ३ जनाको शव निकालिएको छ । एउटै घरमा पुरिएका ७५ वर्षीय लिल बहादुर घर्तिमगर, उनकै छोरी १९ वर्षीया दिना घर्तिमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तिको मृत्यु भएको हो ।
झरना घर्ती आफ्नी साथी दिनाकोमा बस्न गएको बेला पहिरोमा पुरिएकी हुन् । उनीहरूको शव पहिरोबाट निकालेर पोस्टमार्टमको लागी जिल्ला अस्पताल लगिएको एसपी थारुले जानकारी दिए । माथागढी गाउँपालिका स्थित वडा नम्बर–२ को रक्सेमा पहिरोमा परेर ७५ वर्षीय शेरबहादुर चिढी मगरको मृत्यु भएको छ । शुक्रबारदेखि परेको पानीका कारण पाल्पामा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।
मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो । ‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’
उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।