आजदेखि मुसलधारे वर्षाको ‘रेड अलर्ट’, कहाँ-कहाँ पर्दैछ ठूलो पानी ?

काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ । हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो । मौसम विभागले सर्वसाधारण र सरोकारवालाका लागि विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

गण्डकी प्रदेशका सबै जिल्लामा वर्षाको प्रभाव देखिने सम्भावना रहेकाले पहाडी सडक, नदी तथा खोलाको आसपासका बस्ती र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता आवश्यक देखिएको छ। लुम्बिनीमा पनि अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। दाङदेखि पूर्वतर्फ नवलपुरसम्मका भूभागमा समेत मौसमी प्रणालीको प्रभाव देखिन सक्ने बताइएको छ। कर्णालीको पूर्वी भूभाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्र पनि वर्षाबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षा र हिमपातको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.