तीजअन्तरगत आज सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइँदै

धनगढी। आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदै छन्। तिज पर्वमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन्। धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा कुनै त्रुटि वा छुईछाई भएमा ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विश्वास छ। हिन्दु धर्मावलम्बी नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान गर्ने प्रचलन छ। 

पूजा–आराधना सम्पन्न भएपछि कर्कलोलगायत अन्य कन्दमूलको तरकारी बनाएर खाने प्रचलन छ। कर्कलोमा आइरनलगायतका पोषक तत्त्व पाइन्छन्, जुन शरीरका लागि आवश्यक मानिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.