धनगढी । भोटेकोशी नदीमा आएको बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १४३ जना अझै सम्पर्कविहीन रहेको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । शनिबार दिउँसोसम्म १७७ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएकोमा ३४ जनासँग विभिन्न माध्यमबाट सम्पर्क भएको केन्द्रले जनाएको छ ।
सम्पर्कविहीनमध्ये १४ महिला र १२९ पुरुष छन् । कैलालीका ६३, कञ्चनपुरका ३१, डडेलधुराका १७, बाजुराका १४, बैतडीका आठ, दार्चुला र डोटीका तीन/तीन तथा बझाङ र अछामका दुई/दुई जना सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको हुनसक्ने केन्द्रले जनाएको छ । सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन र प्रहरीसँग समन्वय गरी सम्पर्क स्थापित गर्ने तथा खोजी कार्य भइरहेको छ । विवरण सङ्कलन जारी रहेकाले सम्पर्कविहीनको सङ्ख्या थपघट हुन सक्ने जनाइएको छ ।