सरकारका कामकार्वाहीमा खबरदारी गर्न मुख्यमन्त्री भट्टकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पत्रकार तथा सञ्चारकर्मीहरूलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रह गरेका छन् । प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ताे बताएका हुन् ।

उनले राष्ट्रलाई सही दिशामा अघि बढाउन दृढ संकल्प र इच्छाशक्ति आवश्यक रहेको बताउँदै प्रदेश निर्माणको अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर योगदान गर्नुपर्नेमा जोड दिए। सुदूरपश्चिमको समग्र विकास र समृद्धिका लागि अब दृढ इच्छाशक्तिका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका नीति, योजना र कार्यक्रमलाई क्रमशः परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

हाम्रा नीति तथा योजनाहरू अझै पनि अपेक्षाअनुसार परिणाममुखी बन्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री भट्टले यस्तै कमजोरीका कारण विद्यालय दिवा खाजा कार्यक्रमसमेत अपेक्षाकृत प्रभावकारी बन्न नसकेको बताए। दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

“भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ,” मुख्यमन्त्री भट्टले भने, “त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ।” 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.