संसद्लाई सम्बोधन गरेर आज राजीनामा दिदैं मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आज संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा छन् । अघिल्लो ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीसँग ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने दुई विकल्प हुन्। आज त्यसको अन्तिम दिन हो।

यही प्रयाेजनकालागि हिजो सभामुख भीमबहादुर भण्डारीलाई मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराउँदै संसद् आह्वान गर्न पत्र पठाएका थिए। हिजै यस विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आज साँझ ५ बजे संसद् आह्वान गर्ने विषयमा पनि छलफल भएको थियो।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन २७ सांसदको आवश्यक पर्छ। अहिले मुख्यमन्त्री शाहसँग कांग्रेसका १८ सांसदको समर्थन रहेको छ। तीमध्ये कांग्रेसका प्रकाश देउवा अमेरिका छन्। सरकार जोगाउन मुख्यमन्त्री शाहलाई कांग्रेसको मतसहित थप १० मत आवश्यक पर्दछ। थप मतको सुनिश्चितता नहुँदा राजीनामा दिन कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीलाई सुझाव दिएका थिए।

‘विश्वासको मत लिने गरी संसद् आह्वान गरिएको भए पनि विश्वासको मत पाउने सम्भावना नरहेपछि राजीनामा दिन सुझाव दिएका छौँ,’ कांग्रेसका एक सांसदले भने, ‘आज दिउँसो यस विषयमा टुंगो लाग्छ।’ हिजो बसेको संसदीय दलमा पनि विश्वासको मतबारे छलफल भएको थियो। आज ३ बजे फेरि संसदीय दलको बैठक बसेर यस विषयमा थप टुंगो लगाउने कांग्रेसले तयारी गरिरहेको छ।

कांग्रेसका केही सांसद हिजै पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न काठमाडौँ पुगिसकेका छन्। यस्तो अवस्थामा आफ्नै सांसद नहुँदा मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्ने उनी निकट स्रोतको दाबी छ। उता काठमाडौंमा रहेका कांग्रेसका सांसदहरूलाई मुख्यमन्त्री शाहले तत्काल धनगढी आउन भनेपछि उनीहरू कैलाली फर्किरहेका छन्। ‘हामी कैलाली फर्किरहेका छौँ,’ कांग्रेस सांसद मेघराज खड्काले भने।

काठमाडौंमा रहेका सांसदहरू पनि कैलाली पुगेपछि आज ३ बजे बैठक बस्ने र उक्त बैठकले मुख्यमन्त्रीको विकल्पबारे निर्णय लिने बताइएको छ। ५ बजे बैठकमा मुख्यमन्त्रीले सम्बोधन गरेर त्यहीँबाट राजीनामाको तयारी गरेको एक मन्त्रीले बताए। ‘यति लामो समय सरकारको नेतृत्व गरेपछि संसद्मा बोल्नुपर्छ भनेर ५ बजे संसद् बैठक बोलाइएको छ। संसद्मा बोलेर उहाँले राजीनामा दिनुहुन्छ होला,’ ती मन्त्रीले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.