साउन २९ देखि काठमाडौँमा काँग्रेस इतरपक्षकाे राष्ट्रिय भेला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन राष्ट्रिय भेलाकाे आयाेजना गर्न लागेकाे बताए ।

काँग्रेस इतरपक्षले नेता डा. शशांक कोइरालाकाे संयाेजकत्वमा भेलाकालागि ५ सय ५१ सदस्यीय आयोजक समिति बनाइएकाे छ । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको जनाए। २०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै उनले त्यस्तो संकटका बेला एकताको आवश्यकता रहे पनि त्यसो हुन नसकेको बताए।

उनले भने, ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन।’ पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ संगठनका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीलाई निमन्त्रणा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.