बिवहाकाे ६ महिनामै धनगढीमा पूजाको मृत्युबारे प्रहरी के भन्छ ?

धनगढी । नयाँ जीवनका अनेक सपना बोकेर कञ्चनपुरकी पूजा धानुकले छ महिनाअघि धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग भएको थियो । दुवैले मागी विवाह गरेकी थिइन् । विवाहपछि पूजा श्रीमान्, सासू–ससुरा, बाजे–बज्यै, नन्द र फुपूसँग एउटै घरमा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ११ गते अपराह्न करिब ५ बजे पूजालाई घरभित्र सिलिङको पङ्खामा साडीको पासो लगाएको अवस्थामा फेला परेको भन्दै उनका श्रीमान् भरत धामीले प्रहरीसमक्ष बयान दिएका छन् । पूजालाई पासो लगाएको अवस्थामा देख्नेबित्तिकै आफूले पासो काटेर तत्काल उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याएको तर त्यतिबेलासम्म प्रहरीलाई खबर नगरेको उनले बताएका छन् ।

‘जिउँदै बचाउन सकिन्छ कि भनेर हतारमा अस्पताल लगेँ,’ उनका श्रीमान‍्ले  प्रहरी समक्ष भनेका छन् । चिकित्सकले साँझ ५ः५० बजे पूजालाई मृत घोषणा गरे । अस्पतालबाट मृत्युबारे जानकारी आएपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

मृत्यु घोषणा भएपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको थियो, तर प्राविधिक समस्या देखिएपछि शवलाई नेपालगञ्ज लगिएको छ । पोस्टमार्टम आज हुने प्रहरीले जनाएको छ । घटनापछि पूजाका माइती पक्षले उनको मृत्यु रहस्यमय भएको र हत्या गरिएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिए । माइती पक्षले पूजाको हत्या गरिएको आरोप लगाउँदै उनका श्रीमान्, बाजे, बज्यै, फुपू र नन्द गरी पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिएका छन् । जाहेरीपछि मुद्दा दर्ता गरेर प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

डीएसपी तिमिल्सिनाका अनुसार हालसम्म अनुसन्धान प्रारम्भिक चरणमै छ । ‘पूजाले आत्महत्या गरेको र आफूले बचाउने प्रयास गरेको उनका श्रीमान‍्ले बताएका छन्, तर माइती पक्षले हत्या भएको दाबी गरेको छ । दुवै पक्षको दाबीलाई आधार बनाएर निष्पक्ष र सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार अनुसन्धानका लागि सबैभन्दा महत्त्वपूर्ण आधार पोस्टमार्टम रिपोर्ट हुनेछ । रिपोर्ट आएपछि मृत्युको कारण र प्रकृतिबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रहरीले घटनास्थल, परिवारका सदस्यहरूको बयान, अस्पतालको विवरण तथा अन्य प्रमाणहरू सङ्कलन गरिरहेको जनाएको छ । पोस्टमार्टम रिपोर्टले आत्महत्या, हत्या वा अन्य कुनै कारण भन्ने विषयमा अनुसन्धानलाई दिशा दिने विश्वास गरिएको छ । प्रहरीका अनुसार पूजा गृहिणी थिइन् । उनी कुनै जागिरमा रहेको जानकारी अहिलेसम्म प्राप्त भएको छैन । उनका श्रीमान‍्ले के काम गर्थे भन्ने विषयमा पनि विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.