धनगढी फुलबारीकी भावनाकाे सालको पातले फेरियो जीवन

धनगढी। आर्थिक अभाव, सीमित शिक्षा र लगानीको समस्यामा रहेकी कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीकी भावना पुलामीमगरकाे जीवन सालकाे पातले फेरिदिएकाे छ । दुई जना साथीसँग मिलेर उनले साठी हजारमा सुरु गरेकाे सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट अहिले मासिक करिब दुई लाख ७० हजार रुपियाँको कारोबार हुने गरेको छ ।

२०७६ सालमा ६० हजार रुपियाँको लगानीबाट सुरु भएको उद्योगले अहिले राम्रो उचाइ हासिल गरेको उनको भनाइ छ । उनका उत्पादन काठमाडौँ, पोखरा, बुटवललगायत देशका विभिन्न सहरमा मात्र होइन, विदेशसम्म पुग्न थालेका छन् । भावना भन्छिन, “मासिक ५० कार्टोन टपरी उत्पादन हुन्छ । त्यसबाट करिब दुई लाख ७० हजार रुपियाँ आम्दानी हुन्छ । सबै खर्च कटाएपछि करिब एक लाख रुपियाँ बचत हुन्छ ।”

भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिन्छिन । उनी भन्छिन, “६० हजार रुपियाँबाट सुरु भएको यो उद्योगले अहिले दुई गाउँका पाँच सयभन्दा बढी महिलालाई रोजगारी दिएको छ । महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आयआर्जन गरिरहेका छन् ।” 

उद्योगमा हाल पाँच जना महिलाले नियमित रोजगारी पाएका छन् । त्यसबाहेक गाउँका सयौँ महिलाले जङ्गलबाट सालका पात सङ्कलन गरेर उद्योगमा बिक्री गर्ने गरेका छन् । उनीहरूले दैनिक दुईदेखि तीन सय रुपियाँसम्म आम्दानी गर्ने गरेको भावनाले बतान् । उद्योगले हरियो सालको पात प्रतिकिलो १३ रुपियाँका दरले खरिद गर्छ ।

भावनाका लागि सफलताको यो यात्रा सजिलो भने थिएन । आर्थिक अभाव, सीमित शिक्षा र लगानीको समस्या उनका लागि ठुलो चुनौती थियो । उनी विगत सम्झिन्छिन, “तर, पनि आफ्नै केही गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा सधैँ आउँथ्यो । तालिमबाट केही सिप सिकेपछि उनले अन्य दुई जनासँग मिलेर उद्योग सञ्चालन गरेँ । करिब एक वर्षको अनुभवपछि आत्मविश्वास बढ्यो ।

आफ्नै नाममा ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरेर काम थालेँ ।” उनलाई अहिले यही उद्योगले आर्थिक रूपमा सबल बनाउनुका साथै समाजमा छुट्टै पहिचान बनाइदिएको छ । सुरुमा एउटा मात्र मेसिनबाट उत्पादन सुरु भएको उद्योगमा अहिले तीन वटा ठुला, दुई वटा साना दुनाटपरी बनाउने मेसिन र एउटा प्याकेजिङ मेसिन छ । उद्योगमा करिब १२ लाख रुपियाँ बराबरका मेसिन, आठ लाख रुपियाँ बराबरका तयारी सामग्री र एक लाख रुपियाँ बराबरको कच्चा पदार्थ रहेको उनी बताउन्छिन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.