धनगढी । च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ चउन्नीका तीन जना महिला सम्पर्कमा आएका छन्। आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरू सम्पर्कमा आएको बताए। उनका अनुसार तीनै जनाले बिहानतिर घरमा फोन गरि आफूहरू सकुशल जंगलभित्र रूखमा बसिरहेको बताएका छन्। प्रहरीकाअनुसार उनीहरूले फोन गरेर रूखमा बसिरहेको बताउँदै लिन आउन समेत आग्रह गरेका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरू भने अझै सम्पर्कविहीन नै रहेको रावतले बताए। बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुईवटा छुट्टाछुट्टै समूह बनाएर च्याउ खोज्न जंगलतर्फ लागेका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।