धनगढी । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छनभने साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि लाईनबद्ध छन्।
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए। मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ। यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।