अर्जेन्टिनालाई हराउँदै स्पेनले यसरी जित्यो विश्वकपकाे उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेस स्पेनका लागि नायक बने। उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई छक्याउँदै गोल गरे। यो गोलले लिओनल मेसी र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पारिदियो। टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्‍याे ।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

स्पेनले यस प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोऱ्यो, जसले कुनै पनि च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ विश्वकप कीर्तिमान कायम गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.