सुदूरपश्चिममा बजेट पुनः निर्माण र सरकारको नेतृत्व नेकपाकाे सर्त

धनगढी । सुदूरपश्चिममा सत्ताको चाबी नेपाली कम्युनीष्ट पार्टीको हातमा पुगेकाे छ । बजेट विवादले एमालेसँगकाे सत्ता गठबन्धन नै भत्किएर मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रतिपक्षमा रहेकाे तर प्रदेश सभामा सबैभन्दा ठूलाे दल नेकपाकाे हातमा आफसे आफ सत्ताकाे चाबी पुगेकाे हाे ।

बुधवार मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेपछि एमालेले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यससँगै सरकार प्रदेश सभामा बहुमत गुमाउने अवस्थामा पुगेको छ । अब मुख्यमन्त्री शाहसँग दुई विकल्प मात्र देखिन्छन्– या त नयाँ राजनीतिक सहमति गरेर बहुमत जुटाउने, वा सरकारबाट बाहिरिने ।

एमालेसँग भने पुनः सहकार्य हुने सम्भावना निकै कमजोर देखिएको छ । बजेट निर्माण प्रक्रियामा सहमति र साझेदारीको भावना नअपनाएको आरोप लगाउँदै एमालेले कांग्रेससंग प्रदेशमा सम्बन्धविच्छेद गरेको हो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले बजेटमा एकल निर्णय गरेको आरोप लगाएका छन् ।

यता सरकारको भविष्य निर्धारण गर्ने हैसियतमा पुगेको नेकपाले भने आफ्नो अडान स्पष्ट बनाइसकेको छ । अहिले प्रस्तुत गरिएको आर्थिक वर्ष २०८३/८४ को बजेट जस्ताको तस्तै पारित गर्न कुनै पनि हालतमा समर्थन नगर्ने र बजेट पुनः निर्माण गर्नुपर्ने उसको सर्त छ । त्यति मात्र होइन, नेकपाले अब सरकारको नेतृत्वसमेत आफ्नो पार्टीले गर्नुपर्ने दाबी अघि सारेको छ ।

नेकपाका संसदीय दलका नेता खगराज भट्टले बजेट संशोधन र सरकारको नेतृत्वबारे आफ्नो पार्टीको अडान स्पष्ट रहेको बताइसकेका छन् । उनका अनुसार जुन दलले यी सर्त स्वीकार गर्छ, त्यसैसँग सहकार्य गर्न नेकपा तयार हुनेछ । त्यसैले अहिले कांग्रेस र एमाले दुवैका लागि नेकपाको समर्थन सत्ता यात्राको सबैभन्दा ठुलो आधार बनेको छ ।

मुख्यमन्त्री शाहले भने संविधान र कानुनको दायराभित्र रहेर सबै राजनीतिक दलसँग संवाद गरी निकास खोज्ने बताएका छन् । कांग्रेसभित्र पनि सरकार जोगाउन नेकपासँग छलफल भइरहेको दाबी गरिए पनि अहिलेसम्म कुनै सहमति बनेको छैन । यसबीच एमाले पनि नयाँ सत्ता समीकरण बनाएर सरकार गठनको सम्भावना खोजिरहेको छ ।

यदि नेकपाले साथ दियो भने कांग्रेस नेतृत्वको सरकार तत्कालै परिवर्तन हुन सक्छ । तर यदि कांग्रेसले नेकपाका सर्त स्वीकार गर्न सके सरकार केही समयका लागि जोगिन पनि सक्छ । त्यसैले अहिले प्रदेशको राजनीतिमा सबैभन्दा धेरै बार्गेनिङ पावर नेकपाकै हातमा पुगेको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.