फ्रान्सलाई २-० ले हराउदै स्पेन १६ वर्षपछि फाइनलमा

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानिएको थियो र किलियान एम्बाप्पेले काउन्टर अट्याकमार्फत खतरा पनि बढाएका थिए। तर, आफ्नो १९ औं जन्मदिनको भोलिपल्टै खेलिरहेका विङ्गर लामिन यामललाई लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पायो ।

पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे।

त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्याे । तर स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै स्वीपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत् स्पेन २–० ले विजयी भयो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.