धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले धनगढी र लम्कीबाट करीव पचहत्तर हजार बढी नगदसहित विहीबार उनीहरुलाई पक्राउ गरिएकाे जानकारी दिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरिप्रसाद पँडालको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा घरधनी हरिप्रसाद पँडालसहित ७ जनालाई पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट २५ हजार ४५० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरेको जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित गोपाल हमालले सञ्चालन गरेको सपना नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरेको छ। उक्त स्थानबाट प्रहरीले ५० हजार १६० रुपैयाँ नगद र ९ गड्डी तास बरामद गरेको जनाएको छ।
दुवै घटनामा पक्राउ परेका २१ जनामाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।