काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई ‘पछिल्लो समय कता–कता संघीयता माथि आक्रमण हुन्छ कि भन्ने खालको चिन्तन’ सतहमा देखिएको बताउँछन् । फेडरलिजम एण्ड लोकलाइजेशन सेन्टरले मंगलबार काठमाडौंंमा गरेको संघीयता कार्यान्वयनमा प्रदेश संरचनाबारेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले संघीयता त्यतिकै नआएको पनि बताए ।
‘यो संघीयताको विषयमा हामी जीवनभरि यो १२/१३ वर्ष संघीयताको लागि संघर्ष गर्दै आएको हो’ उनी भन्छन्, ‘यो संघीयता प्राप्तिको निम्ति थुप्रै नागरिकको योगदान छ । धेरै नागरिकले संघर्ष गरेका छन् र लामो संघर्ष बाट प्राप्त भएको हो ।’ सांसद राईले सन्तुलित बजेट विनियोजन, पहिचानको संरक्षण, छिटो–छरितो सेवा प्रवाह र शासकीय सुधारका लागि संघीयता अपरिहार्य रहेको जिकिर गर्दै संघीयताको सवालमा श्रम संस्कृति पार्टी चट्टान झैँ उभिने बताए ।
संघीयता खर्चिलो भएको भाष्य गलत रहेको दाबी गर्दै उनले लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि छेडखानी गरे नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी समेत दिए ।