धनगढी । विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्याएका चार जना युवा वैज्ञानिकलाई सम्मान गरिएको छ । आइतबार धनगढीमा प्रदेश युवा परिषद्ले आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरुलाई नगद पुरस्कार र कदरपत्रसहित सम्मान गरेका हुन् ।
सम्मानित हुने युवा वैज्ञानिकहरूमा कैलालीको टीकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा र कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधि क्षेत्रलाई युवासँग जोड्नुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताए । उनले समाज रूपान्तरण, समाजको सकारात्मक परिवर्तन र समाजलाइ सही दिशातर्फ अघि बढ्न युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारती लगायतले पनि युवाहरूको क्षमता अभिवृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।