मोबाइल किन्नमै नेपालीले पौने ६१ अर्ब खर्चिए

नेपालीले पछिल्लो ११ महिनामा नै मोबाइल फोनका लागि पौने ६१ अर्ब रुपैयाँ खर्च गरेका छन् । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा नेपालमा २० लाख ४१ हजार वटा स्मार्टफोन भित्रिएका छन् । यी फोनका लागि नेपालीले करिब ६० अर्ब ८३ करोड ६६ लाख ६४ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

भन्सार विभागको जेठसम्मको तथ्यांक अनुसार २० लाख मोबाइल आयात हुँदाको भन्सार मूल्य ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँको छ । उक्त मूल्यका मोबाइल भित्रिँदा राज्यले ८ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ । जेठसम्ममा भित्रिएका यी मोबाइलको औसत बजार मूल्य ३० हजार रुपैयाँ देखिन्छ । यो तथ्यांकका अनुसार नेपाली स्मार्टफोन प्रयोगकर्ताले औसतमा ३० हजार रुपैयाँको मोबाइल प्रयोग गर्छन् । त्यसो त १० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । यी मोबाइलको औसत मूल्य भने ३० हजार रुपैयाँ हुन्छ ।

बजारमा बिक्री हुने सबैभन्दा बढी मोबाइल सेट पनि २५ देखि ३५ हजार रुपैयाँकै हुने गरेको मोबाइल व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार नेपालमा आयात भएका मोबाइलमा भन्सार मूल्यमा थप ४० प्रतिशत शुल्क बजारसम्म पुग्दा जोडिन्छ । सरकारले मोबाइल आयात गर्दा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तःशुल्क लिन्छ ।

नेपालमा भित्रिएको मोबाइल गत वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । गत वर्ष १९ लाख ७५ हजार वटा सेट आउँदा ३२ अर्ब ८ करोड रुपैयाँ भन्सार मूल्यको थियो । यस्तो मोबाइलको मूल्य अघिल्लो वर्ष २०८०/८१ मा जम्मा २६ हजार मात्रै थियो । नेपालमा वार्षिक ४३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आउँदा मासिक रुपमा हुने आयात करिब ४ अर्ब रुपैयाँको हुँन आउँछ । नेपालमा स्मार्टफोनको आयात बढ्दा विदेशी मुद्रा मासिक रुपमै करिब ४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रासमेत बाहिरिरहेको छ ।

विज्ञहरूका अनुसार इन्टरनेटको पहुँचमा वृद्धि, अनलाइन शिक्षा, डिजिटल बैंकिङ र सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण स्मार्टफोन अब विलासिताको वस्तु नभई अत्यावश्यक साधन बन्दै जानुले पनि यसको प्रयोग बढेको हो । नेपालमै मोबाइल एसेम्बलिङ प्लान्टहरूलाई प्रोत्साहन दिन सके यो ठूलो व्यापार घाटा कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.