धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाको फैसला उल्ट्याएर शाही हत्यामा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद फैसला गरेकाे छ । उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्लाको फैसला उट्याउँदै यस्ताे फैसला सुनाएको हो ।
अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय सुनाइएको बताए । उनीहरू मध्येका सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन् । उनकाअनुसार उनीहरूलाई जनही एक/एक लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिइएको छ ।
अन्य चारजना प्रतिवादी पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीको हकमा भने जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको छ । ४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले यो मुद्दाको सुनवाइ गर्दै सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएको थियो । ३० वैशाख २०७९ को स्थानीय तह चुनावको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा एमाले कार्यकर्ताले अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए । २१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।