धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको आज बसेको नगरसभाको १५औं अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
उनले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ हजार ६८३ रुपैयाँ विनियोजन गरिएको बताइन् । उपप्रमुख रानाका अनुसार बजेटको स्रोततर्फ आन्तरिक आयबाट ५५ करोड १० लाख, राजश्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार २०६, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण एक अर्ब ६ करोड ७९ लाख सात हजार, प्रदेशबाट वित्तीय हस्तान्तरण १४ करोड २२ लाख सात हजार र चालुआर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २५८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
उपमहानगरपालिकाले वडा स्वास्थ्य क्लिनिकलाई अझै प्रभावकारी बनाउँदै निरन्तरता दिने, विद्यार्थीहरुलाई पढ्दै सिक्दै कार्यक्रम अन्तरगत सीप सिकाउने, नगर गौरवको आयोजना सञ्चालन गर्ने, दीगो र वातावरणमैत्री पूर्वाधार विकास गरी धनगढीलाई बसोबास योग्य र समुन्नत बनाउने, सीप तथा रोजगार मेलालाई निरन्तरता दिने, सडक बत्ति व्यवस्था गरी मध्याकालीन बजार र रात्रीकालीन पर्यटन प्रबद्र्धन गर्ने लगायतका नीति लिएको छ ।
यस्तै उपमहानगरपालिकाले धनगढी-कनरी-रामपुर- चौमाला, धनगढी-पथरी-बनबेहडा र धनगढी-बेली-जुगेडा-घूईयाँघाट-बंगरा र धनगढी-घोडसुवा-स्याउले रूटमा नगर बस सेवा विस्तार गर्ने भनेको छ। बजेट सार्वजनिक गर्नुअघि नगरसभाको आजै बसेको बैठकमा उपप्रमुख रानाले उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।