राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुने भएको छ । भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
यसअघि भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
“केन्द्रीय बैठकले विधान संशोधन गरेको छ”, बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भने, “प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।”
हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन ।
विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् । यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताए ।
अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् । पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।