धनगढी । कैलालीको गोदावरीमा टेम्पोलाई भीरबाट खसालिएको घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् । समितिलाई घटनाको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताइएको छ ।
यता, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा सहभागी अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वन कर्मचारीहरूको समूहले टेम्पोलाई धकेलेर भीरबाट खसालेको देखिएपछि चौतर्फी आलोचना भएको थियो ।