धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारमा व्यापार गरेको आरोपमा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
शुक्रबार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो हटाउने क्रममा भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाको व्यापक आलोचना भइरहेको छ। धामीले उक्त टेम्पोमा पानी, चाउचाउ, बिस्कुट र अण्डालगायत सामग्री बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्। उनले आफूले हारगुहार गर्दा पनि वन कर्मचारीहरूले जबर्जस्ती टेम्पो भिरबाट खसालेको आरोप लगाएकी छन्।
यता डिभिजन वन कार्यालय धनगढीले भने चुरे क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा बल प्रयोग गर्दा भिरालो भू–भागका कारण टेम्पो असन्तुलित भई खसेको दाबी गरेको छ। कार्यालयका अनुसार टेम्पो सञ्चालनयोग्य अवस्थामा नरहेको र अतिक्रमण हटाउन पूर्वसूचना समेत दिइएको थियो। तर पीडित पक्षले टेम्पो चल्ने अवस्थामै रहेको बताएको छ। घटनापछि वन कार्यालयका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका छन्।
यता कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाबारे दुवै पक्षबाट फरक–फरक दाबी आएकाले निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिए। इलाका प्रहरी कार्यालय मालाखेतीले पनि पीडित र वन कर्मचारीसँग थप सोधपुछ भइरहेको तथा कानुनविपरीत कार्य भएको पुष्टि भए दोषीमाथि कारबाही गरिने जनाएको छ।