धनगढी । डडेल्धुराकाे अमरगढी नगरपालिका र स्थानीय बासिन्दावीच पुन: बिवाद चर्कीएकाे छ । नगरपालिकाले यसअघिका सहमति पालना नगरेपछि यस्ताे भएकाे हाे ।
नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा–६ को गुनेगाड–छचोडा क्षेत्रमा निर्माण गर्न लागेको डम्पिङ साइट स्थानीयवासीको विरोधपछि पुनः विवादमा परेको छ। निर्माण कार्य प्रभावित हुँदा सदरमुकामको फोहोर व्यवस्थापन समस्या झन् जटिल बनेको छ भने वडा कार्यालयमा गरिएको तालाबन्दीले सेवाग्राहीसमेत प्रभावित भएका छन्।
बुधबार नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरसहितको टोली पुगे पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। त्यसपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्दै नगरपालिकाविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म ताला नखोल्ने र जबरजस्ती काम गरिए नगरपालिकामै तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
नगरपालिकाले संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब ४ करोड रुपैयाँ लागतमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण ठेक्का प्रक्रिया अघि बढाइएको छ। तर स्थानीय विरोधले काम रोकिएको छ। स्थानीयले खानेपानीका मुहान, खेतीयोग्य जमिन र बस्ती नजिकै डम्पिङ साइट बन्ने भएकाले वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरेका छन्। नगरपालिकाले उपयुक्त समाधान खोज्नुपर्ने उनीहरूको माग छ।
वडा कार्यालयमा तालाबन्दीका कारण दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ।