बैतडी । सुदूरपश्चिमकै दुर्गम र विकासका दृष्टिकोणले पछि परेको बैतडीको तल्लो स्वराड क्षेत्रमा केही वर्षअघिसम्म सडक यातायात थिएन । दैनिक उपभोग्य वस्तु, स्वास्थ्य उपचारका लागि महाकाली नदी तरेर भारत जानुपर्ने बाध्यता थियो । अहिले भने यस क्षेत्रमा कालोपत्रे सडक, बिजुली र इलाका प्रशासन कार्यालय खुलेपछि यहाँका स्थानीयले बल्ल आफ्ना लागि सरकार भएको अनुभूति गर्न थालेका छन् ।
नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनसमेत सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । भारतसँग सीमा जोडिएको स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कालोपत्रे सडक पुगेपछि यस क्षेत्रको परिचय नै फेरिन थालेको छ । विकास पूर्वाधारमा सङ्घ, प्रदेश र स्थानीय तहबाट नै लगानी भइरहेको छ ।
एक दशकअघिसम्म यहाँ खच्चडमार्फत चामल ढुवानी गर्नुपर्दा बजार मूल्यभन्दा प्रतिकिलो २० रुपियाँ महँगो तिर्नुपर्ने बाध्यता थियो । सङ्घ र प्रदेश सरकारको अगुवाइमा सडक पुगेपछि अहिले सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध थालेको छ । यहाँको स्थानीय कृषि उत्पादन तराईका जिल्ला पुग्न थालेको छ । घर पोत्ने रातोमाटोसमेत बिक्री हुन थालेपछि स्थानीय दङ्ग छन् ।
केही वर्षअघिसम्म भारतीय बजारमा नै भर पर्नुपर्ने बाध्यताले तल्लो स्वराडका सीमावर्ती गाउँमा नेपाली मुद्रासमेत चल्दैनथ्यो । सामाजिक सुरक्षा भत्ता बुझ्नसमेत भारतको पिथौरागढ जिल्ला घुमाएर पञ्चेश्वर पुग्नु पथ्र्यो तर अहिले यहाँका तीन वटै पालिकामा बैङ्क खुलेपछि गाउँमा नेपाली मुद्रामै कारोबार हुन थालेको छ । बैंङ्कबाटै सामाजिक सुरक्षा भत्ता प्राप्त हुन थालेको स्थानीय नारायण सार्की बताउद्छन् ।
पाटन–पञ्चेश्वर सडक निर्माणले गति लिएपछि महाकाली नदीमा काठको डुङ्गा तरेर भारत जानुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, “भारत जाँदा नेपाली टोपी लुकाएर जानुपर्ने बाध्यता अहिले छैन ।”