धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङमा नेपालले एसियन गेम्स छनोटको समूहको अन्तिम खेलमा मलेसियामाथि १६७ रनको फराकिलो अन्तरको जित निकालेको छ। आजको खेलमा जित हात पारेसँगै नेपाल समूह विजेता बनेको छ।
नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा १०८ रन बनायो। उसका लागि कप्तान सयद अजिजले ५४ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका शेर मल्लले ३ विकेट लिए। त्यसअघि भुर्तेलले अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए।
बिहीबार भुर्तेलले एसियन गेम्स छनोटमा भुर्तेलले मलेसियाविरूद्ध १२६ रन बनाए। उनले ५४ बल खेलेर १४ चौका र ८ छक्का प्रहार गरे। त्यसअघि उनले छनोटमै चीनविरूद्ध १२९ रन बनाएका थिए। लगातार दुई शतक प्रहार गरेसँगै भुर्तेलले दीपेन्द्रसिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाएका छन्। उनले टी-२० आफ्नो रन २२४० पुर्याएका छन्।
उनले टी-२० मा आफ्नो शतक संख्या तीन पुर्याएका छन्। नेपालका लागि टी-२० मा लगातार दोस्रो शतक हान्ने उनी पहिलो ब्याटर हुन्। साथै लगातार शतक बनाउने विश्वका दशौं खेलाडी हुन्। भुर्तेलको शतकसँगै सिंगापुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७५ रन बनायो। भुर्तेलबाहेक नेपालका लागि आशिफ शेखले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए।
कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३१ र सन्दीप जोराले १४ बलमा १५ रन जोडेर आउट भए। लोकेश बम पनि ६ बलमा १० रन जोडेर आउट भए। रोहित पौडेल शून्य र करण केसी ७ रन जोडेर आउट भए। चीनलाई हराएका दुवै टोलीले सेमिफाइनलमा पुगेर एसियन गेम्समा छनोट भइसकेका छन्।