कैलालीमा गर्मीले विद्यार्थी कक्षा कोठामै बेहोस हुन थाले

टीकापुर । कैलालीमा गर्मी बढ्दै गएपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएका थिएभने मंगलबार पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए।

गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ। “गर्मी बढेपछि विद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको छ,” उनले भने, “एउटै कक्षामा सयौँ विद्यार्थी छन् । गर्मीले दैनिक रूपमा विद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको छ।”

गर्मी बढेपछि दिउँसोको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या हुन थालेको छ । टीकापुरका कतिपय विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी सङ्ख्या हुने तर पङ्खा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरु बताउँछन्। गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ।

कैलालीको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका न्याय मौसम विज्ञान सहायक वीरेन्दप्रसाद कुशवाहका अनुसार सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४० डिग्री सेल्सियस पुगेको थियो। आज अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ । खड्ग स्मृति माविका अमित परियार एउटै कक्षामा विद्यार्थी सङ्ख्या ८० माथि भएकाले अध्ययनमा समस्या भइरहेको, विद्यार्थी बिरामी हुने, बेहोस हुने जस्ता समस्या भएको बताउँछन् । “कतिपय साथी गर्मी सहन नसकेर बीचमै पढाइ छोडेर घर जाने गरेका छन्,” उनले भने, “टाउको दुख्यो, चक्कर आयो भन्ने साथी बढेका छन्।”

यहाँ धेरै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउने गरेको अभिभावको पनि गुनासो छ । यहाँका केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ।

कैलालीमा केही दिनअघि पनि तालिमका क्रममा सशस्त्र प्रहरी बलका जवान ‘हिट स्ट्रोक’का कारण बेहोस भएका थिए । उनीहरुको अहिले काठमाडौँमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.