मनोकामना पूरा हुने जनविश्वासले बेहडाबाबा मन्दिरमा भक्तजनको घुइँचो

धनगढी । कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु भएसँगै भक्तजनको घुइँचो लागेको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बेहडाबाबा धाममा हरेक वर्षजस्तै यस वर्ष पनि ज्येष्ठ शुक्ल नवमीदेखि चतुर्दशीसम्म मेला आयोजना गरिएको हो।

मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने गरेका छन्। बेहडाबाबामाथि भारतीय दर्शनार्थीको अगाध श्रद्धा रहेको छ । बेहडाबाबाको दर्शन गरेर शुद्ध मनले मागेका कुरा प्राप्त हुने गरेको भारतीय दर्शनार्थीले बताउने गरेका छन् । बेहडाबाबाको दर्शन गर्दा सुख, शान्ति, समृद्धि र सन्तान प्राप्त हुने गरेको उनीहरूको भनाइ छ । 

बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने गरेको भारतको उत्तर प्रदेश खिरीस्थित भिराका सोहनलाल साहुले बताए। “सन्तान नहुनेले बेहडाबाबाको दर्शन गरेमा सन्तान पनि प्राप्त हुने गर्दछ,” बेहडाबाबा जाँदै गर्दा धनगढीमा भेटिएका उनले भने, “बेहडाबाबाको दर्शन र पूजाआजा गर्दा मनोकामना पूरा हुने गरेकाले म विगत केही वर्षदेखि प्रत्येक वर्ष यहाँ गङ्गादशहरामा दर्शन गर्न आउने गरेको छु ।”

जेठको चर्को गर्मीमा पनि भारतीय दर्शनार्थी गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः हिँडेरै पुग्ने गरेका छन् । झोलाझम्टा, बालबच्चा बोकेर उनीहरू पैदल हिँडेर आएको देखिन्छ । नाकाबाट बेहडाबाबा करिब १२ किलोमिटर टाढा रहेको छ ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्दै बेहडाबाबालाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित मेला आयोजना हुँदै आएको बताइएको छ। गंगादशहरा मेलाको अवसरमा आज एक दिन धनगढी उपमहानगरपालिकाले स्थानीय सार्वजनिक बिदासमेत दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.