नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ। यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ।
सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ। यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ।
विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ। काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक÷एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्नेगरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ। वाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ। धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक÷एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ।
मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ। यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।
आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।