धनगढीकाे तापक्रम ४२ डिग्री ! अत्यधिक गर्मीले जनजीवन प्रभावित

धनगढी । पछिल्लाे केही दिनदेखि सुदूरपश्चिमकाे तराइ क्षेत्रमा गर्मी बढ्दै गएकाे छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक तापक्रम बढ्ने भन्दै सतर्कता अपनाउन भनेकाे छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको धनगढीको तापक्रम सबैभन्दा धेरै ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य तराईका सहरहरूमा पनि आजको दिनलाई ‘तातो दिन’ का रूपमा वर्गीकरण गरिएको छ। पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण कैलालीको जनजीवन कष्टकर बनेको छ। तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ।

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ। गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या समेत बढ्दै गएको छ।

उता नेपालगञ्ज र भैरहवाको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस रहनेछ। यसैगरी दाङको घोराहीमा ३५ देखि ३७ र मधेस प्रदेशको जनकपुरमा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहनेछ। अत्यधिक गर्मी हुने यी सहरहरूमा वर्षाको कुनै सम्भावना छैन भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.