धनगढी । सीमानाका हुँदै एक सय रुपियाँभन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ । सरकारले हाल कायम एक सय रुपियाँको सीमा बढाउने तयारी गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेटमार्फत सीमा बढाउने उल्लेख गरे । मङ्गलबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उनले सिमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यतः तराई मधेशका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताए ।
नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उनको धारणा थियो । त्यसका लागि आधुनिक प्रविधि क्यामेरा, फेस रिकग्निसन डिभाइस, नाइट भिजनका कुरामा एआई प्रयोग गर्न गृह मन्त्रालयलाई बजेट विनियोजन गरिने पनि उनले जानकारी दिए ।