धनगढीले गोदावरी नगर प्रमुखलाई ३५ हजार क्षतिपूर्ति तिराउने

धनगढी । धनगढी उपमहानगरपालिकाले कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिराउने भएको छ । भट्टले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा धनगढी–अत्तरिया ६ लेन सडकको रेलिङमा क्षति भएपछि धनगढी उपमहानगरपालिकाले क्षति बराबरको जरिवाना रकम तिराउने निर्णय गरेको हो ।

भट्टले मादक पदार्थ सेवन गरेर चलाएको गाडी गत शनिबार साँझ ६ लेन सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । गाडी ठोक्किएर रेलिङमा क्षति पुगेपछि धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपियाँ क्षति यकिन गरेको छ । क्षति बराबरको रकम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने नगर प्रमुख गोपाल प्रमुखको सचिवालयले जानकारी दिएको छ । 

क्षतिपूर्ति रकम असुल गर्नका लागि धनगढी उपमहानगरपालिकाले नगर प्रहरी पठाएको थियो । नगर प्रमुख भट्टले भने आफैले रेलिङ मर्मत गरी दिने प्रतिवद्धता गरेकाे जनाइएको छ । यसअघि, मापसे गरेर सवारी चलाएको र लापरवाही गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले भट्टलाई एक हजार रुपियाँ जरिवाना गरेको थियो । 

नगर प्रमुख भट्टले चलाएको सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी ६ लेन सडकमा दुर्घटना भएको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.