धनगढी । तराइमा उखर्मलाउदो गर्मी भएका बेला गोदावरीबाट १२ किलोमिटर पहाड चढ्ने बित्तिकै शीतलता दिने क्षेत्र हो बुढीतोला । बुढीतोलाको मौसमको आनन्द लिँदै पर्यटक ओहोरदोहोर गरिरहने भए पनि बुढीतोलामै समय बिताउने गन्तव्य बन्न नसकिरहेको बेला अहिले यसको ब्रान्डिङ मा स्थानीय जुटेका छन् ।
बुढीतोलमा हाल पर्यटकका लागि सुविधा सम्पन्न होटलहरु पनि सञ्चालनमा रहेको बताउँदै स्थानीय व्यवसायी तथा समितिका सल्लाहकार सदस्य अशोक मल्लले बुढीतोलाको ब्रान्डिङ गर्न सके यस क्षेत्रको विकास गर्न सकिने बताए । बुढीतोलामा निजी लगानीमा फोर्ट हिस्टोरीक पार्क र फन गार्डेन सञ्चालन गरेका उनले पछिल्लो समयमा पर्यटक लक्षित गरेर बुढीतोलमा होटल व्यवसायमा लगानी भित्रिने क्रम जारी रहेको बताए ।
पर्यटकीय क्षेत्र बुढीतोलाका सम्भावना उजागर गर्न बुढीतोलामा पहिलो पटक पर्यटन महोत्सवको समेत आयोजना गरिएको छ । पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिले आयोजना गरिएको उक्त महोत्सवबाट बुढीतोलाको ऐतिहासिक महत्व उजागर हुने, पर्यटन प्रवद्र्धन तथा लगानी भित्र्याउन मदत पुग्ने अपेक्षा गरिएको छ । महोत्सव वैशाख १७ गते देखि २३ गते सम्म सञ्चालन हुँदै छ ।