धनगढी । सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुु पर्व अर्थात् नयाँ वर्षकाे उल्लास यतिबेला सुदूर गाँउबस्तिसम्मै पुगेकाे छ । रोजगारी तथा काम विशेषले घर बाहिर र छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेपछि बिसुकाे राैनकता गाउँघरसम्मै पुगेकाे हाे ।
सुदूरपश्चिम प्रदेशबासीहरुले पुरानाे बर्षकाे विदाई र नयाँ बर्षकाे आगमनकाे दिनलाई बिसु पर्वको रूपमा मनाउने गर्दछन् । बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउने गरेका छन् । बिसुपर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने प्रचलन रहेको छ । बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दैआएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कन थाल्दछन् ।
वर्षभरी भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा उनीहरूमा उत्साह देखिएको छ । भारतबाट मजदुरी गरेर गाउँ फर्किदै गरेका डोटीका हर्कबहादुर महराले बिसु पर्व मनाउन तीन वर्षपछि घर आएको बताए । यतिबेला घर फर्किनु भएकाहरू धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् । बिनाभिसा आवत–जावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो ।