धनगढी । चौकिडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाईट थेगिम एडभेन्चर जेभिले सात बर्षसम्म नबनाउदा स्थानीयले सडक बन्द गरिदिएका छन् । स्थानीयले सडक धुलाम्मे भएर समस्या भएको भन्दै उक्त सडकमा सवारी साधनमा रोक लगाएका हुन।
स्थानीयले बाटो बन्द गरेको ठाउँमा ठेकेदार हराएको हुँदा बाटो बन्द गरिएको ब्यानर टाँसेका छन् । यस्तो अर्को ब्यानरमा उनीहरूले स्थानीय सरकार, प्रदेश सरकार, लापता भएकोले विरोध स्वरूप ट्याक्टर, बस, टिप्पर लगायतका ठुला सवारी साधनलाई आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको लेखेका छन् ।
सडक निर्माणमा भएको चरम ढिलासुस्ती पछि स्थानीय पटक पटक आन्दोलन विरोधका कार्यक्रम गर्दै आएका छन् । यसैबिच स्थानीय र जनप्रतिनिधिको आन्दोलन बिच गत भदौ २३ गते ठेकेदार सँग काम गर्ने समय सीमा तोकेर तमसुक नै बनाइएको थियो । प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीमा भएको तमसुकमा पूर्वाधार विकास कार्यालय पहिलो पक्ष र ठेकेदार कम्पनी दोस्रो पक्ष रहने गरी गोदावरी नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षको रोहबरमा समय सीमा तोकेर तमसुक गरिएको थियो ।
पटक पटक निर्माण अवधिको धज्जी उडाउँदै आएका ठेकेदारले यस पटक तमसुकको पनि धज्जी उडाएका छन । तमसुक अनुसार चौकिडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाईट थेगिम एडभेन्चर जेभिले फागुन ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ देखि निर्माणको काम सुरु गरिरहेको उक्त कम्पनीले असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गरेर चैत ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, हाल उक्त कम्पनीले पहिलो लेयरको कालोपत्रेको आधा काम पनि गरेको छैन भने बाँकी सडक अझै धुलाम्मे अवस्थामै रहेको छ ।