धनगढी । आगामी दाेस्राे पञ्चबर्षिय याेजना (२०८३/८४-२०८७/८८) मा समेट्न सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएका ब्यक्ति तथा संघसंस्थासँग छलफल गर्दै सुझाव संकलन गरेकाे छ । प्रदेश नीति तथा याेजना आयाेगले आईतवार धनगढीमा विभिन्न जिल्लाका अपाङ्गता भएका ब्याक्ति, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिकाे सहभागितामा उक्त कार्यक्रम गरेकोे हो ।
कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्याक्ति तथा अभिभावकहरूले आफ्ना अनुभव, भोगाइ तथा समस्याहरू राख्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अर्थपुर्ण सहभागिता, खेलकूद तथा पुर्नस्थापना सम्बन्धी विषयमा आगामी पञ्चवर्षीय योजनामा समावेश गरिनुपर्ने बताएका थिए । यस्तै सहायक सामग्रीको सहज उपलब्धता, स्वास्थ्य बीमा अन्तर्गत आवश्यक औषधि उपचारहरू निःशुल्क व्यवस्था, विद्यालयहरूमा समावेशी शिक्षा प्रणालीको सुदृढीकरण तथा मानसिक स्वास्थ्य सेवाको विस्तारमा विशेष जोड दिएका थिए ।
कार्यक्रममा आयोगका सदस्य कर्णवहादुर कुँवरले अपाङ्गता भएका ब्यक्तिहरुकाे सहज जीविकाेपार्जन र समावेशी विकास सरकारको प्राथमिकतामा रहेको बताउदै आजप्राप्त सुझावहरूलाई आगामी पञ्चवर्षीय योजनामा समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । नीति निर्माण प्रक्रियामा सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उनकाे जाेड थियाे ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद धमलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश नीति तथा याेजना आयोगका सदस्य कुँवरसँगै नृपबहादुर सुनार, विज्ञ सदस्य डा. हेमराज लामिछाने, लक्ष्मण पार्की, शुरेन्द्र बाग्ले, पुष्कल श्रेष्ठ र सचिब गणेशबहादुर सिह लगायतका पदाधिकारीकाे उपस्तिथि रहेका थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नरदीप बहादुर धामीले संचालन गरेकाे उक्त अन्तरक्रियाले अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिकाे हकहित सुनिश्चित गर्न तथा दीर्घकालीन, समावेशी र व्यवहारिक योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।