धनगढीमा श्रीमतीको हत्या काण्ड, कसरी घट्यो घटना ?

धनगढी । धनगढीमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका डम्मरराज जोशीले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्। स्रोतका अनुसार सो क्रममा उनले आफ्नी पत्नीप्रति कुनै गुनासो नभएको बताएका छन् । तर अनुसन्धानबाट डिप्रेसन र शंकाले ग्रसित मानसिक अवस्थाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

धनगढी उपमहानगरपालिका–७ देवहरियास्थित आफ्नै घरमा २३ फागुनको राति जोशीले श्रीमती सरस्वती अवस्थी जोशीको टाउकोमा ह्यामरले पटक–पटक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएका थिए । प्रहरीका अनुसार पक्राउ परेपछि जोशीले हत्या स्वीकार गरेका छन्। अहिले घटनापछि दम्पतीका पाँच महिनाका शिशु छोरा र ९ वर्षीया छोरी आमाबिहीन बनेका छन्। परिवारले उनीहरूको हेरचाह गरिरहेको भए पनि आमाको मृत्युले बालबालिकाको अवस्था निकै दयनीय बनेको बताइएको छ ।

धनगढीको एक्सिस विद्यालयमा अध्यापन गर्दै आएका जोशी केही समयदेखि मानसिक स्वास्थ्य समस्याका कारण घरमै बसिरहेका थिए। प्रहरीका अनुसार उनी डिप्रेसनबाट ग्रसित थिए र बेला–बेला रिसाउने, झर्किने तथा आफ्नाविरुद्ध षड्यन्त्र भइरहेको आशंका गर्ने स्वभाव देखाउने गरेका थिए। घटना भएको दिन साँझ पनि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। जोशीले आफू काठमाडौं जाने बताएका थिए भने श्रीमतीले उनलाई बाहिर नजान आग्रह गरिरहेकी थिइन्। यही विषयमा घरको पूजा कोठामा विवाद चर्किएको प्रहरीले जनाएको छ।

विवाद उग्र भएपछि जोशीकी श्रीमतीले सुरुमा हातमा टोकेर जोशीलाई अलिकबेर घिसारेकी थिइन्। त्यसपछि आवेगमा आएका जोशीले पत्नीमाथि कुटपिट गर्दै टाउकोमा पटक–पटक प्रहार गरेका थिए। प्रहरीसमक्ष दिएको बयानमा उनले पाँच पटकसम्म प्रहार गरेको बताएका छन्। उनले फलामको हतौडाले प्रहार गरेको बताए पनि प्रहरीले भने अहिलेसम्म हतियार बरामद गर्न सकेको छैन।

हत्या गरेपछि उनी मोटरसाइकल चढेर राति नै फरार भएका थिए। प्रहरीका अनुसार उनी रगत लागेको कपडामै करिब ४ लाख ६२ हजार रुपैयाँ लिएर भागेका थिए। चिसापानीसम्म मोटरसाइकलमा पुगेपछि उनले मोटरसाइकल त्यहीँ छाडेर ट्रक चढेर बाँकेतर्फ गएको बताइएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका–शम्शेरगञ्ज पुगेपछि गाउँमा अपरिचित व्यक्ति घुमिरहेको भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए। स्थानीयले खिचेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि सोही आधारमा प्रहरीले उनको पहिचान गरी पक्राउ गरेको थियो।

उता, घटना भएको राति पाँच महिनाको शिशु रोएपछि ९ वर्षीया छोरी ब्यूँझिएकी थिइन्। आमालाई ओछ्यानमा नदेखेपछि उनी खोज्दै हलसम्म पुगेकी थिइन्। त्यहाँ आमाको शव देखेपछि उनले भाइलाई बोकेर बाहिर निस्केर छिमेकीलाई खबर गरेकी थिइन्। त्यसपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए।

हाल जोशी जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.