धनगढी । आसन्न २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सातै प्रदेशमा खटाइएको छ । निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको हो ।
उनीहरूले निर्वाचन अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने बताइएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको कमाण्ड गर्न प्रशासन विभागका प्रमुख हिमालय कुमार श्रेष्ठलाई आउने भएका छन् । यो प्रदेशको प्रहरी प्रमुख भने ओम बहादुर राना नै रहने छन् । निर्वाचन सुरक्षाका लागि बुधबार मात्रै निर्वाचन आयुक्तहरूलाई बोलाएर प्रहरी प्रधान कार्यालयमा छलफल गरेको थियो । त्यहाँबाट प्राप्त सल्लाह सुझाव अनुसार पनि सुरक्षा रणनीति बनाएर काम हुने बताइएको छ ।
यस्तै शंकास्पद ठाउँहरूमा तालिमप्राप्त कुकुरहरूको गस्ती तथा ठग स्निफिङ हुने बताइएको छ । निर्वाचनको समयमा साइबर चुनौती व्यापक रहेको औंल्याउँदै त्यसका लागि तयारी पनि तिव्र पारिएको प्रवक्ता काफ्ले बताउँछन् । सीमा नाकामा कडा निगरानी गर्नेदेखि काउन्टर पार्टस्हरूसँग मिटिङ गरेर सीमा नाका बन्द गर्ने काम हुने बताइएको छ ।